Directory Home / Directory
Belbari Municipality
Belbari, Morang
Government
Office Info
Address Belbari, Morang
मोरङको बेलबारी लगायतको विजयपुरमा विजयनारायण पछि पाल्पाली सेन राजा लोहांगसेनले कब्जा गरेपछि भने यो भेग पाल्पाली सेनहरूको अधीनमा पर्न पुग्यो । तत्काल पाल्पाली सेन राज्य विभाजन हुँदा नारायणी नदीदेखि पूर्वको मकवानपुर लोहांगसेनले भागीमा पाएको हुनाले यो भेग पनि मकवानपुरभित्र पर्थ्यो । यसै गरी अझ पछि भने हरिहर सेनका नाति विधाता इन्द्र सेनले कवानपुरबाट विजयपुरलाई अलग्ग राज्य बनाएको हुँदा बेलबारी लगायतको स्थान विजयपुरको अभिन्न अङ्ग बन्न पुग्यो । सेन काल भन्दा अघि नै बेलबारीको सेनकीमा धनपाल नामका एक जना रजौटाले शासन गर्दथे । तिनको राजधानी र दरबारका अवशेषहरू अहिले पनि कसेनीमा रहेको छ । यसलाई स्थानीय मानिसहरूले संरक्षण गरेर राखेका छन्, जसलाई धनपालगढीका नामले जान्ने गरिन्छ । कालान्तरमा धनपालगढीको पतन भयो र धनपालको राज्य विजयपुरमा गाभियो । यता विजयपुर पनि स्थानीय रजौटाबाट सेनहरूको अधीनमा परेको देखिन्छ । यसै क्रममा वि.सं. १८३१ सालमा विजयपुर बृहत्तर नेपालमा गाभिएपछि भने बेलबारी पनि बृहत्तर नेपाभित्र पर्न पुग्यो । त्यसपछि बेलबारी भेग मोरङको एउटा भागका रूपमा रहन पुग्यो ।
ऐतिहासिक कालमा यो क्षेत्र घना जङ्गलले ढाकेको थियो । अहिले पनि राजमार्ग उत्तर क्षेत्र जङ्गलले नै ढाकिएको छ । पुराना बुढापाकाहरूको भनाई अनुसार त्यस समयमा यहाँको जङ्गल क्षेत्रमा प्रशस्त बेलको रुखहरू पाइने हुनाले कालान्तरमा यस क्षेत्रको नाम नै “बेलबारी” रहन गएको हो । अर्थात् बेलै बेलको घारी भएको हुनाले यस भेगको नाम बेलबारी रहन गएको भन्ने भनाई रहिआएको छ । तर हाल भने यस भेगमा बेलको जङ्गल सामान्य मात्र रहेको पाइन्छ । नेपाल सरकारले २०७१ साल वैशाखमा साबिक बेलबारी र कसेनी गाउँ विकास समिति मिलाएर बनेता पनि पुन: २०७३ को राज्य पुनर्संरचना पश्चात् पुन यस नगरपालिकामा साबिक डाँगीहाट र बाहुनी गाउँ विकास समिति गाभिएर हालको संरचना बनेको हो । यस नगरपालिका हाल ११ वटा वडाहरूमा विभाजन गरिएको छ । कुल ‍१३२.७९ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो नगरको उत्तर तर्फ लेटाड. नगरपालिका र केराबारी गाउँपालिका पूर्वतर्फ कानेपोखरी गाउँपालिका र लेटाङ नगरपालिका पश्चिम तर्फ सुन्दरहरैचा नगरपालिका र ग्रामथान गाउँपालिका र दक्षिण तर्फ रङ्गेली नगरपालिका रहेका छन् ।
विविध कला संस्कृति र धर्मावलम्बीहरूको बसोबास रहेको यो नगर क्षेत्रमा ऐतिहासिक महत्वको धनपालगढी, प्राकृतिक र पर्यावरणीय रूपमा मनोरम स्थल बेतना सिमसार क्षेत्र, झलझली सिमसार, पेट्रोल खानी, रमिते डाँडा लगायत अन्य सिमसार क्षेत्रको प्रचुर सम्भावना बोकेको छ जसबाट पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्ने देखिन्छ ।
वि.सं. २०६८ को कुल जनसङ्ख्या ६५ हजार ९ सय ७४ रहेकोमा हाल वि.सं. २०७४ को अनुमानित कुल ७५ हजार ५ सय ९५ जना पुगेका छन् । वार्षिक जनसङ्ख्या वृद्धिदर २ दशमलव ५४ रहेको यो नगरमा आदिवासी जनजातिको ५७.१३ प्रतिशत, ब्राह्मण क्षेत्री ३२.२३ प्रतिशत, दलित ७.८१ र मधेसी पिछडा वर्ग २.८३ प्रतिशत रहेका छन् । साक्षरताको हिसाबले निकै अघि रहेको यो नगरको कुल साक्षरता ७४.१७ प्रतिशत रहेकोमा महिला ६६.६६ प्रतिशत र पुरुष ८३.२२ प्रतिशत रहेको छ ।
वि.सं. २०७८ जनगणना अनुसार बेलबारी नगरपालिकाको कुल जनसङ्ख्या ८१ हजार ७ सय ७१ रहेको छ । जसमा महिला ४३ हजार ४ सय ७४ र पुरुष ३८ हजार २ सय ७९ रहेका छन् । तस्तै बेलबारी नगरपालिमा २० हजार ४ सय ५९ घरधुरी सङ्ख्या रहेकोमा औसत घरधुरी सङ्ख्या ४ छ भने लैङ्गिक अनुपात ८८.०९ रहेको छ ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.