वि.सं. २०१६ सालमा स्थापित ‘राष्ट्रिय नाचघर’ लाई समग्र नेपाली संस्कृतिको संस्थागत विकासका लागि सञ्चार संस्थान ऐन, २०२८ अनुसार वि.सं २०२९ साल असार ५ गते नाम परिमार्जन सहित “सांस्कृतिक संस्थान” को रूपमा पुनर्गठन भएको हो । सांस्कृतिक संस्थान नेपालको पहिचानयुक्त सिर्जनशील कला सजीव रूपमा प्रदर्शनी गर्ने अभिभारा बोकेको संस्कृति सम्बन्धी नेपाल सरकारको एकमात्र ज्येष्ठ निकाय हो । नेपाल सरकारको पूर्ण स्वामित्व रहेको सांस्कृतिक संस्थानले स्थापनाकालदेखि संस्कृति संरक्षण, संवर्द्धन, प्रवर्द्धन र पुस्तान्तरणका लागि नेपाल सरकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका राष्ट्रको पहिचान झल्किने लोकसंस्कृति सम्बन्धी कार्यक्रमहरू राज्यका महत्त्वपूर्ण कार्यक्रम, सभा, समारोह, पर्व एवम् अन्य विशेष अवसरमा प्रदर्शन गर्दै गौरवमय इतिहास कायम राखेको छ । सांस्कृतिक संस्थानको प्रमुख उद्देश्य सांस्कृतिक नवजागरण गराई सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी सर्वसाधारणलाई स्वस्थ मनोरञ्जन उपलब्ध गराउनुका साथै नेपालको पहिचानयुक्त सजीव लोकसंस्कृतिलाई प्रस्तुतिका माध्यमबाट संस्थागत रूपमा संरक्षण तथा प्रवर्द्धन गरी नयाँ सभ्य संस्कृति निर्माण गर्नु हो । संस्थानले जागरणमूलक सांस्कृतिक अभियान मार्फत कुसंस्कार, कुप्रथा, विकृति, विसंगति, रूढिवादी सोच, अन्धविश्वास, भेदभाव, शोषण, दमन, हिंसा, अन्याय–अत्याचार तथा बेथिति निर्मूलनको लागि नैतिक शिक्षा सम्प्रेषण गरी सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा विशेष योगदान पुर्याएको छ ।
सांस्कृतिक संस्थानले विगतदेखि अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन, प्रवर्द्धन र पुस्तान्तरणका लागि गायन, वादन, नृत्य तथा नाट्य अभिनय जस्ता विधाहरुमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थानले उद्देश्य प्राप्तिका लागि विनियमावलीको कार्यान्वयन गरी कलाकार सेवा र प्रशासन सेवा अन्तर्गत दुई महाशाखाः कलाकार महाशाखा र प्रशासन महाशाखा अन्तर्गत कार्यक्रम तथा योजना शाखा, प्रशासन शाखा, गायन शाखा, वाद्यवादन शाखा, नृत्य शाखा, नाटक शाखा, हल शाखा, लेखा शाखा, भण्डार शाखा, अभिलेख शाखा, श्रव्यदृश्य शाखा र बजार व्यवस्थापक शाखा गरी १२ वटा शाखा स्थापना गरी आफ्ना नीति तथा कार्यक्रमहरू प्रभावकारी ढंगले सम्पादन गर्दै आएको छ । नेपाल सरकारको शिक्षालाई व्यावहारिक बनाउने, नीति तथा कार्यक्रमलाई सफल पार्नका निम्ति संस्थानले विगतदेखि विभिन्न तहका पाठ्यक्रममा आधारित नाटक, उपन्यास, कथा, एकाङ्की तथा काव्य रचनालाई नाटक एवम् गीति नाटकका रूपमा मञ्चन गरी प्रदर्शन गर्दै पनि आएको छ । संस्थानले सरकारी एवम् गैरसरकारी निकायसँग संस्थानको हित सम्बन्धी क्रियाकलापमा सहकार्यका नीति तथा कार्यक्रमहरूको समेत प्रबन्ध गर्ने गरेको छ ।
सांस्कृतिक संस्थानसँग ठूलो प्रेक्षालय, सानो प्रेक्षालय, सेमिनार प्रेक्षालय र अभ्यासका लागि सम्बन्धित कक्षहरू रहेका छन् । ठूलो प्रेक्षालय (मेगा हल) को सिट क्षमता ७०० भन्दा बढी, सानो प्रेक्षालय (मिनी हल) को सिट क्षमता १०४ सिट भन्दा बढी र सेमिनार प्रेक्षालय तथा अभ्यास कक्षमा सिट क्षमता ५० भन्दा बढी रहेको छ । संस्थानको प्रधान कार्यालय काठमाडौँ महानगरपालिका वडा नं.२७ जमलमा ५ रोपनी २ आना १ पैसाको क्षेत्रफलमा अवस्थित रहेको छ । समय, परिस्थिति, राज्यको मार्गनिर्देशन, विज्ञान–प्रविधिको विकास, जनचाहना अनुरूप सांस्कृतिक संस्थान रूपान्तरित भई छिटो–छरितो एवम् प्रभावकारी सेवा प्रवाहमा प्रतिबद्ध छ ।
उद्देश्य
लोकसंस्कृति संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तारणका लागि सांस्कृतिक नवजागरण गराउने तथा राष्ट्रको पहिचानयुक्त लोकसांस्कृतिक कार्यक्रम प्रस्तुत गरी सर्वसाधारणलाई स्वस्थ मनोरञ्जन उपलब्ध गराउनु संस्थानको प्रमुख उद्देश्य रहेको छ ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.