संघिय गणतन्त्र राज्य नेपालको लुम्बिनी प्रदेश अन्तर्गत रोल्पा जिल्लाको १० वटा स्थानीय तह मध्येको लुङ्ग्री गाउँपालिका पनि एक हो । अति सौन्दर्य मनमोहक प्रसिद्ध लुङ्ग्री नदिको नामवाट नामाकरण गरिएको यस गाउँपालिकाको केन्द्र साबिकको वडाचौर गा.बि.स को किलाचौरमा रहेको छ । यस गाउँपालिका रोल्पा जिल्ला सदरमुकाम लिवाङ देखि ३५ कि.मि. उत्तर पूर्व तथा सुनिल स्मृति गाउँपालिकाको सुलिचौर बजार देखि ६ कि.मि.उत्तर पूर्वमा अवस्थित छ ।
यस गाउँपालिकाको क्षेत्रफल १३५.२३ वर्ग कि.मि. र जनगणना २०७८ अनुसार कूल जनसंख्या २६५३९ रहेको छ जसमा जम्मा घरधुरी संख्या ५४८६, जम्मा पुरुष संख्या १२३४८ र जम्मा महिला संख्या १४१९१ रहेको छ । साबिकका ५ वटा गाउँ बिकास समितिहरु (वडाचौर, गुम्चाल, हारजंग, पांग, शिर्प) मिलाएर बनेको यस गाउँपालिकामा हाल सात वटा वडाहरु रहेका छन् । यस गाउँपालिकाको सिमाना पूर्वमा प्युठान, पश्चिममा सुनिल स्मृति गाउँपालिका र सुनछहरी गाउँपालिका, उत्तरमा सुनछहरी गाउँलिका र दक्षिणमा प्युठान र सुनिल स्मृति गाउँपालिका रहेका छन् ।
लुङ्ग्री गाउँपालिकाको नामकरण:
लुङ्ग्री गाउँपालिकाको नामकरण यस रोल्पा जिल्लाको सुनछहरी गाउँपालिकाको उवा र सेरमबाट बहने अति सौन्दर्य मनमोहक नदी लुङ्ग्रीको नामबाट राखिएको हो । तत्कालिन स्थानीय तह पुनर्संरचना समिति रोल्पाको सिफारिस र स्थानीय विकास मन्त्रालयले मिति २०७३ फाल्गुन २७ गते यस लुङ्ग्री गाउँपालिकाको नामकरण गरेको हो ।
हावापानी:
समुन्द्री सतह देखि करिब १००० मिटर देखि २००० मिटर सम्मको भौगोलिक उचाईमा अवस्थित यस लुन्ग्री गाउ पालिकामा न्यानो समशितोषण हावापानी देखि ठण्डा समशितोषण सम्मको हावापानी पाइन्छ ।
तापक्रम र वर्षा:
यस गाउँपालिकाको सरदर तापक्रम न्यूनतम -५० से. देखि अधिकतम ३२० से. सम्म पुग्दछ ।श्रवन र भद्र महिनामा बढी वर्षा हुन्छ भने हिउदमा अति चिसो हुने, तुषारो पर्ने र जनजिवन कस्टकर हुने गर्दछ ।
भेषभुषा र संकृति (Costume and Jewellery):
यस गाउँपालिकामा मगर र क्षेत्री समुदायको बसोबासको बाहुल्यता भएपनि बहुसंख्यक जनताले नेपाली भाषा बोल्ने तथा मगर रहन सहनलाई अपनाएको देखिन्छ । यहाका क्षेत्रीहरुले (बुढापाखाहरुले) मगर समुदायको भेषभुषा अंगालेको पाइन्छ। मगर समुदायको भेषभुषा विश्वमै दुर्लभ र राम्रो रहेको छ। क्षेत्री तथा मगर समुदायका बुढापाखाहरुले शिरमा टोपी, कम्मरमा पटुका साथै महिलाहरुले मखमली चोली, गुन्यू, गादा, पहेलो पटुकी, गलामा हरियो, पहेलो पोते, मुगामाला चौआनी(चादीको), नाडीमा बाला आदि भेषभुषा अंगालेको पाइन्छ ।
बसोबास:
यस लुन्ग्री गाउ पालिकामा प्राय जसो मगर र क्षेत्री समुदायको बाहुल्यता रहेको छ । यस बाहेक बाहुन, क्षेत्री, दशनामी, गुरुङ र दलित समुदायको पनि बसोबास छ ।
सांकृतिक, चाडपर्व, संकार र परम्परा (Culture, Festival, Ritual & Tradition):
यस गाउँपालिका समुदायको संस्कृतिमा पनि निकै धनि रहेको छ। अन्य जातिले पनि मगरको संस्कृतिलाई अंगालेको पाइन्छ । आदीवासी जनजाति समुदायमा शुभ साइत वा काममा निधारमा दहि र सेतो चामलको टीका लगाउने चलन छ । सेतो टीकाले निश्चल, निस्कपट र पवित्रताको प्रतिक लेकमा टल्कने हिउँको शोभालाई अनुकरण गरेर आफु पनि पहाड र हिउँ जस्तै निडर तथा स्वाभिमानीको प्रतीकको रुपमा लिईन्छ । क्षेत्री/ब्राहमण समुदायले शुभ साइतमा निधारमा रातो टीका, शुभको प्रतिक कलास मुल ढोकामा राखेर शुभ यात्रा गर्ने चलन छ ।
सामाजिक जनजीवन:
यस गाउँपालिकामा मुख्य गरी अधिकांश मानिसहरुले दशैँ, तिहार, माघे संक्रान्ति, चैते दशैँ आदी पर्वहरु हिन्दु परम्परा अनुसार मनाउने गर्दछन । बिबाह परम्परा केटा केटीले मन पराएर केटाले भगाएर आफ्नो घरमा लिने चलन छ भने बिबाह भएको १/२ बर्ष पछि माइती मान्न जाने चालन छ । केहि समुदायमा हिन्दु परम्परा अनुसार कुल पुज्दा (देवाली) नहुदा सम्म बिहानको भैसीको दुध बिहान खाने चलन छैन तर बेलुकीको दुध खाने चलन छ । यस गाउँपालिका जन्म र मृत्यु परम्परा, हिन्दु अनुसारनै छ । बच्चा जन्मेको छैटौ दिनमा छैटी गर्ने र ब्राहमणलाई बोलाई न्वारण गरी बच्चाको नाम राख्ने चलन छ । मृत्युमा १३ दिन सम्म जुठो बार्ने चलन छ ।
© 2025 Suchanaa. All Rights Reserved.