समुन्द्री सतहको १२०० मिटर देखि २५०० मिटर सम्मको उचाईमा बझाङ जिल्लाको पुर्वी भागमा अवस्थित मष्टा गाउँपालिका सुगमताका हिसावले तुलनात्मकरुपमा अन्य गाउँपालिकाहरु भन्दा सुगम तथा जिल्ला सदरमुकामसँग जोडिएको गाउँपालिका हो । मष्टा गाउँपालिकाको नामाकरण हालको वडा नं ३ मा अवस्थित मष्टा मन्दिर बाट गरिएको हो र यस क्षेत्रमा मुख्य कुल देवताको रुपमा पुजिन्छ । उच्च पहाडी जिल्लाको रुपमा रहेका बझाङ जिल्लाकै धरातलिय विशेषता झल्काउने यस गाउँपालिका साविकका कोटदेवल, भातेखोला, रिलु र मष्टा गाविस मिलेर बनेको छ । यो गाउँपालिका हालको संघीय संरचनामा सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्दछ । यो गाउँपालिका १०९.२४ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको भने वि. सं. २०७८ को जनगणना अनुसार यस गाउँपालिकाको कुल जनसंख्या १३२६५ (महिला ७१५०र पुरुष ६११५) रहेको छ ।