ऊर्जा, जलस्रोत तथा सिंचाइको दिगो विकास, संरक्षण, उपयोग र पानीको बाँडफाँड सम्बन्धी नीति, कानुन, मापदण्ड र नियमन गर्न तथा ऊर्जा, जलस्रोत तथा सिंचाइ सम्बन्धी अध्ययन, अनुसन्धान र प्रविधि विकास गर्न साविकको ऊर्जा मन्त्रालय र सिँचाइ मन्त्रालय तथा सो मातहतका निकायहरूका साथै साविकको वातावरण मन्त्रालय अन्तर्गत रहेका वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र जल तथा मौसम विज्ञान विभाग समेत समावेश गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय गठन भएको हो।
जलस्रोतको दिगो विकास, संरक्षण, उपयोग र पानीको बाँडफाँड तथा जलस्रोत, ऊर्जा, सिँचाइ र भूमिगत जलस्रोतसम्बन्धी अध्ययन, अनुसन्धान र प्रविधि विकासका साथै वैकल्पिक ऊर्जा प्रवर्द्धन र जल तथा मौसम विज्ञान संबन्धि कार्य यस मन्त्रालयको प्रमुख कार्यक्षेत्र रहेका छन् ।
दीर्घकालीन सोच:
- जलविद्युत्को दिगो र भरपर्दो विकास मार्फत मुलुकको समृद्धिमा योगदान पुर्याउने,
- वैकल्पिक/नवीकरणीय ऊर्जाको प्रवर्द्धन, विस्तार र दक्षता मार्फत् आधुनिक ऊर्जाको दिगो विकास गर्ने,
- दिगो एवम् भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराई कृषि उत्पादन र उत्पादकत्व वृद्धिमा योगदान पुर्याउने,
- जल उत्पन्न प्रकोपबाट सिर्जित मानवीय, भौतिक तथा आर्थिक हानी-नोक्सानीलाई उपयुक्त प्रविधिको माध्यमबाट जोखिम न्यूनीकरण गर्नुका साथै रोजगारी सिर्जना गरी गरिबी निवारणमा सहयोग पुर्याउने,
- विश्वसनीय र भरपर्दो जल तथा मौसम सेवा मार्फत हवाई उड्डयन, जलस्रोत, कृषि, पर्यटन, स्वास्थ्य लगायतका क्षेत्रको दिगो विकास एवम् जलवायु समानुकूलित समाजको निर्माण गर्ने ।
उद्देश्य:
- जलविद्युत्को उत्पादनमा वृद्धि गर्दै स्वच्छ ऊर्जाको उपलब्धता सुनिश्चित गर्ने,
- ऊर्जा दक्षता सहित गुणस्तरयुक्त, भरपर्दो र सुलभ रूपमा सबै घर परिवार र उत्पादनशील क्षेत्रमा विद्युत सेवाको पहुँचमा विस्तार गरी विद्युत खपतमा वृद्धि गर्ने,
- क्षेत्रीय ऊर्जा निर्यात व्यापार अभिवृद्धि र पेट्रोलियम पदार्थको आयात क्रमशः प्रतिस्थापन गर्दै भुक्तानी सन्तुलनलाई अनुकूल बनाउन योगदान पुर्याउने,
- राष्ट्रिय प्रसारण प्रणालीको पहुँच बाहिरका क्षेत्रमा समेत वातावरणमैत्री, दिगो, भरपर्दो, सर्वसुलभ, किफायती र गुणस्तरीय आधुनिक ऊर्जाको पहुँच वृद्धि गर्ने,
- ऊर्जाको दक्ष उपयोगबाट ऊर्जा खपत घनत्व घटाई उत्पादकत्व बढाउने,
- जलस्रोतको बहुआयामिक तथा समन्यायिक उपयोगमार्फत् आर्थिक, सामाजिक र वातावरणीय क्षेत्रको विकास गर्ने,
- जलाधार व्यवस्थापन तथा जलउत्पन्न विपद् न्यूनीकरण एवम् व्यवस्थापनबाट आर्थिक तथा सामाजिक क्षती न्यूनीकरण गर्ने,
- जल तथा मौसम सेवालाई समयानुकुल विकास र विस्तार गर्न आवश्यक नीति निर्माण तथा संरचनागत सुधार गरी जल तथा मौसम जन्य वहुप्रकोपको भरपर्दो पूर्वानुमान तथा पूर्वसूचना प्रवाहबाट नागरिकको जीउधनको सुरक्षा गर्ने,
- उपयुक्त प्रविधि मार्फत थप कृषियोग्य भूमिमा सिँचाइ सेवा विस्तार गर्ने,
- ठूला, जलाशययुक्त तथा जलस्थानान्तरण बहुउद्देश्यीय आयोजनाको विकास गरी कृषियोग्य भूमिमा वर्षै भरी भरपर्दो रूपमा सिँचाइ सुविधा उपलब्ध गराउने,
- सम्पन्न सिँचाइ प्रणलीको मर्मत-सम्भार एवम् व्यवस्थापनलाई सुदृढ तुल्याई दिगोपन बढाउने,