नौकुण्ड गाउँपालिका बागमती प्रदेशको रसुवा जिल्लामा अवस्थित छ । वि.सं. २०७३/११/२७ गते राजपत्रमा सूचना प्रकाशित भए संगै देशका विभिन्न ७५३ वटा स्थानीय तह संगै यो गा.पा. पनि अस्तित्वमा आएको हो । पूर्वमा गोसाईकुण्ड गा.पा. र नुवाकोट जिल्ला, पश्चिममा कालिका गा.पा., उत्तरमा गोसाईकुण्ड गा.पा. तथा दक्षिणमा नुवाकोट जिल्लाको सिमानासंग जोडिएको यो गा.पा. १२६.९९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । स्थानीय वासिहरुलाई सर्वसुलभ ढंगले सेवा उपलब्ध गराउन यो गाउँपालिकालाई जम्मा ६ वटा वडामा विभाजन गरिएको छ । साबिकका यार्सा,सरमथली र भोर्ले गा.वि.स.लाई समावेश गरि यो गा.पा.को निर्माण गरिएको हो । रसुवा जिल्लाकै सबैभन्दा बढी जनसंख्या रहेको यो गा.पा को कुल जनसंख्या ११८२४ रहेको छ ।
रसुवा जिल्लाकै सबैभन्दा बढी जनसंख्या भएको नौकुण्ड गाउँपालिकाको सबै भन्दा ठुलो सबल पक्ष यसको मानव संसाधन रहेको छ । यसका अतिरिक्त यस गाउँपालिकामा रहेका नदि नाला,वन,कृषि योग्य भूमिले यस गाउँपालिकाको विकासलाई सकारात्मक दिशा तर्फ डोर्याउन सहयोग गर्ने विषयमा दुई मत छैन । साथै नुवाकोट जिल्लाका अतिरिक्त कालिका र गोसाईकुण्ड गाउँपालिकासंग यस गाउँपालिकाको सिमाना जोडिनुले यस गाउँपालिकाको विकासमा अथाह सम्भावना थपेको छ ।
यद्यपी यस गाउँपालिकामा विद्यमान गरिबी, अशिक्षा, पर्याप्त संचार सुविधाको अभाव, उद्योग कलकारखानाको अभाव,सरसफाई सम्बन्धि जनचेतनाको अभाव,परम्परागत र निर्वाहमुखी कृषि प्रणाली,सडक संजालको अपेक्षाकृत विस्तार नहुनु,सक्षम मानव संसाधनको विदेश पलायन, बाल विवाह आदि यस गाउँ पालिकाका प्रमुख समस्याका रुपमा रहेका छन् ।
स्थानिय तहको निर्वाचन सम्पन्न भए पश्चात यस गाउँपालिकामा समेत राजनीतिक नेतृत्वको अभावमा लामो समयसम्म विद्यमान रहेको राजनीतिक शुन्यताको अन्त्य भएको छ । स्थानीय शासन र विकास निर्माणमा प्रत्यक नागरिक आफै संलग्न हुने वातावरण बनेको छ । राजनीतिक प्रणालीप्रति नागरिकको भरोसा पुनर्स्थापित हुने क्रममा रहेको छ । यस गाउँपालिकाको बजेट तुलनात्मक रुपमा ढिलो प्रस्तुत भएता पनि विकासका प्रत्येक आयाम र विकास प्रक्रियामा प्रत्येक विषयगत कार्यालयहरुले भूमिका खेल्न सक्ने गरि बजेट तर्जुमा गरिएको छ ।
© 2025 Suchanaa. All Rights Reserved.