मकवानपुर जिल्लाको पश्चिमी उत्तर भागका ४ वटा साविक गा.वि.स.हरु राक्सिराङ्ग, काँकडा, खैराङ्ग र सरिखेत मिलाई नेपाल सरकारको मिति २०७३/११/२७ को निर्णयले राक्सिराङ्ग गाउँपालिका गठन भएको हो । यस गाउँपालिकाको जनसंख्या २५९९६ (राष्ट्रिय जनगणना, २०७८), ३०८३० (घरधुरी सर्वेक्षण २०७५, राक्सिराङ्ग गा.पा.) कुल क्षेत्रफल २२६.७ वर्ग कि.मि. र जनघनत्व १३५.७२ प्रति व्यक्ति वर्ग कि.मि.छ । यसको पूर्वमा हेटौडा उप-महानगरपालिका र कैलाश गाउँपालिका, पश्चिममा चितवन जिल्लाको राप्ति नगरपालिका, दक्षिणमा मनहरी गाउँपालिका र उत्तरमा कैलाश गाउँपालिका र धादिङ्ग जिल्लाको बेनिघाट रोराङ्ग गाउँपालिका पर्दछ । आदिवासी र अल्पसंख्यक चेपाङ समुदायको बाहुल्यता रहेको यो भूगोल पृथक सभ्यता, संस्कृति र सम्भावनाको भूमि हो ।
विपन्नता, अभावका समाचारमा आइरहने यो भूगोल पछिल्लो समय सम्भावनाको थलो बनेको छ। जल, जमीन, जंगल, जडिबुटि यो भूगोलको अमूल्य निधि हो ।
नेपालको वर्तमान संविधानले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्ने लक्ष्य लिएको छ । सोहि अनुसार गाउँपालिकाको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र संचालन गर्ने अभिभारा गाउँ कार्यपालिकामा रहे अनुसार गाउँपालिकाले आफ्ना क्रियाकलाप संचालन गरिरहेको छ । जनताका इच्छा आकांक्षा र चाहनालाई गाउँसरकारबाट सम्बोधन गरि सङ्घीयताका लाभहरूको सम्प्रेषण गर्ने महत्वपूर्ण जिम्मेवारी हाम्रो सामु रहेकाले यो चुनौतीलाई अवसरका रुपमा रुपान्तरण गरि परिवर्तनका सकारात्मक नतिजाहरुतर्फ इमान्दार तरिकाले केन्द्रित भइरहेका छौँ ।
© 2025 Suchanaa. All Rights Reserved.