कोशी प्रदेशमा अवस्थित धरान, नेपालकै एक सुन्दर तथा विविध सांस्कृतिक विविधता भएको सहर हो । यो सुनसरी जिल्लामा पर्दछ ।
महाभारतकालीन ईतिहास बोकेको र पछिल्लो समयमा किरात राजधानीको रुपमा रहेको विजयपुर धरान नगरको शिर हो । विजयपुरको ईतिहास खोतल्दा सतिदेविको दन्त पतन भएको किम्वदन्ति र दन्तकाली मन्दिरको अवस्थिति एवं ५०० वर्ष पहिले बंगालका राजाले जिर्णोद्धार गरेको पिण्डेश्वर मन्दिरको अभिलेखहरुबाट यो स्थान पुरातात्विक, पौराणिक एवं ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको छ । हालको आधुनिक धरान सहर रहेको स्थानमा सुरुमा घना जङ्गल रहेको र सो जङ्गल फँडानीका क्रममा काठ चिर्ने आरावालाहरुले तयार गर्ने गरेको धरान (धराप) बाट नै आजको धरान सहरको नामकरण भएको भन्ने भनाई छ ।
विजयपुरमा धेरै अघि देखि बसोबास भएको भएता पनि वि.स. १९५० तिर घना जङ्गल फँडानी गरेर समतल क्षेत्रमा सानो बस्तीबाट सुरुवात भएको धरान, वि.स. १९५९ मा तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले चन्द्रनगर (हाल पुरानो बजार) र वि.स. १९९० तिर श्री ३ जुद्ध शमशेरले जुद्ध नगर (हालको नयाँबजार) बसालेको इतिहासमा पाइन्छ ।
वि.स. २०१० सालमा पूर्वाञ्चलको लागि ब्रिटिस गोर्खा भर्ती केन्द्र धरानमा स्थापना भए पछि मुख्य रुपमा धरानमा बसोबास तथा चहलपहल बढेको पाइन्छ । वि.स. २०१७ सालमा धरान नगरपालिका घोषित भएको धरान, वि.स. २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्दा कोशी अञ्चलको सदरमुकाम समेत घोषित भएको थियो ।
सुरुमा ११ वडाहरू मात्र रहेको धरानलाई वि.स. २०३५ सालमा पूर्वतर्फ रहेको बाँझगरा गाउँ पञ्चायत र पश्चिम तर्फ रहेको घोपा गाउँ पञ्चायतको केहि केहि क्षेत्रलाई गाभेर क्षेत्र विस्तार गरी १९ वडामा विभाजन गरिएकोमा २०७१ वैशाख २५ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार पाँचकन्या गा.वि.स.लाई पनि धरान नगरपालिकामा गाभी २३ वडा कायम गरियो । २०७१ मंसिर १६ गते नेपाल सरकार (मन्त्रीपरिषद्) को निर्णय अनुसार विष्णुपादुका गा.वि.स.लाई धरान नगरपालिकामा गाभेर २७ वडा कायम गरि धरान नगरपालिकालाई उपमहानगरपालिका घोषित गरिएको हो । संघीय पुनर्संरचना आयोगको निर्णयानुसार वर्तमान धरान फेरि २० वटा वडामा पुनर्संरचित भएको छ ।
विविध जाति तथा जनजातिहरूको बसोबास स्थल र कला, साहित्य, संस्कृति तथा खेलकुदको क्षेत्रमा ख्याति प्राप्त धरान हाल आएर शिक्षा, स्वास्थ्य, पर्यटकीय तथा व्यापारिक पूर्वाधारयुक्त सुन्दर सहरको रूपमा विकास हुँदै पूर्वाञ्चलको मात्र नभइ नेपालकै नमुना नगरपालिका बन्न प्रयासरत छ ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.