गोसाईकुण्ड गाउँपालिका रसुवा जिल्लाको ऐतिहासिक र पर्यटकीय महत्व बोकेको गाउँपालिका हो । राज्यको पूर्नसंरचना पश्चात रसुवा जिल्लाका साविकका धुन्चे, स्याफ्रु, बृद्धिम, थुमन, टिमुरे र लाङटाङ गा.वि.स. हरुलाई एकीकृत गरी गठन भएको यो गाउँपालिका रसुवा जिल्लाको करीव ५१ प्रतिशत भूभागमा फैलिएको छ। ऐतिहासिक, भौगोलिक, आर्थिक, सामाजिक, साँस्कृतिक रुपले अत्यन्त सम्भावना रहेको यो गाउँपालिकाको पूर्वमा सिन्धुपाल्चोक जिल्ला र चिन, पश्चिममा आमाछेदिङमो, उत्तरगया र कालिका गाउँपालिका, उत्तरमा चिन र दक्षिणमा नौकुण्ड गाउँपालिका, नुवाकोट जिल्ला र सिन्धुपाल्चोक जिल्ला पर्दछन् ।
६ वटा वडाहरु रहेको यस गाउँपालिकाको कूल क्षेत्रफल ९७८.७७ वर्ग मिटर रहेको छ। वि.सं. २०६८ सालको जनगणना अनुसार ७१४३ जनसंख्या रहेको यस गाउँपालिकामा प्रसिद्ध तीर्थस्थल गोसाईकुण्ड ताल रहेको छ। पर्यटकीय दृष्ट्रिकोणले रमणीय क्षेत्र लाङटाङ हिमाल, क्यान्जिङ भ्याली, ऐतिहासिक महत्व बोकेको रसुवागढी नाका समेत यस गाउँपालिकामा पर्दछन। गोसाईकुण्ड तालको अलवा सुर्यकुण्ड, भैरवकुण्ड, दुधकुण्ड, सरस्वतीकुण्ड आदि कुण्डहरुले यो गाउँपालिकाको पहिचानमा थप टेवा दिएको पाइन्छ। उल्लेखित हिमाल, ताल तथा कुण्ड, लाङटाङ राष्ट्रिय निकुञ्च, नागथली, रिभरकुण्ड, तामाङ संग्रहालय, विश्वको दुर्लभ जनावर रेडपाण्डा आदि यहाँका पर्यटकीय आकर्षणका आधारहरु हुन्।
रसुवा जिल्लाको सदरमुकाम रहेको धुन्चे बजार, गाउँकार्यपालिकाको केन्द्र रहेको स्याफ्रवेशी बजार र ऐतिहासिक रसुवागढी नजिक रहेको टिमुरे बजार यहाँका प्रमुख बजार क्षेत्रहरु हुन। गाउँपालिका ६ वटा वडाहरुमध्ये ५ वटा वडाहरु लाङटाङ राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्र भित्र पर्दछन्। चिलिमे जलविद्युत केन्द्र, रसुवागढी जलविद्युत कम्पनी, लाङटाङ भोटेकोशी जलविद्युत आयोजना, माथिल्लो त्रिशुली ‘ए‘ (२१६ मे.वा.) जल विद्युत आयोजना र लाङटाङ खोला जलविद्युत आयोजनाको प्रभावक्षेत्रमा पर्ने यस गाउँपालिकाका जनताको जीउने मुख्य आधार पर्यटन व्यवसाय हो। पशुपालन, फलफूल खेती, याक चिज उत्पादन आदिवाट समेत यहाँका जनताले आय आर्जन गर्ने गरेको पाइन्छ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.