नेपालको मध्यभागमा, ईशानेश्वर महादेवको काखमा अवस्थित यस मध्यनेपाल नगरपालिका लम्जुङ्गको १० वटा गा. बि. स.( जिता, तान्द्रङ टक्सार, सुर्यपाल, रम्घा, समिभञ्यङ, भोर्लेटार, इशानेश्वर, करापू, बाङ्ग्रे र नेटा) लाई समेटेर २०७३ सालमा यस मध्यनेपाल नगरपालिकाको नामाकरण गरि घोषणा गरिएको हो। काठमाण्डौबाट १८० कि.मी पश्चिम तथा पोखराबाट ३२ कि.मी पूर्वमा अवस्थित यस मध्यनेपाल नगरपालिका गण्डकी प्रदेश अन्तर्गत लम्जुङ्ग जिल्लाको एक व्यापारीक केन्द्र भोर्लेटारमा पर्दछ। यो नगरपालिकाको पूर्वमा सुन्दरबजार नगरपालिका, पश्चिममा रुपा गाँउपालिका, कास्की जिल्ला ,दक्षिणमा ब्यास नगरपालिका, तनहुँ जिल्ला तथा उत्तरमा क्व्होलासोथार गाँउपालिका र केहि भाग बेसीशहर नगरपालिका रहेका छन।
११३.८६ वर्ग कि.मी क्षेत्रफलमा फैलिएको यस नगरपालिकाको २०७८ सालको जनगणना अनुसार जम्मा ६४२७ घरधुरि रहेका छन। ११,८९५ महिला र १०,०७६ पुरुष गरि जम्मा २१,९७१ जनसंख्या रहेको छ। शिक्षाको क्षेत्रमा हेर्दा जम्मा ७८.९ % साक्षरता प्रतिशत रहेको छ, जसमा पुरुष साक्षरता ८७.८ प्रतिशतर महिला साक्षरता ७१.६ प्रतिशत रहेको छ।
यस नगरपालिकामा मुख्य जातिको रुपमा गुरुङ्ग, ब्राह्मण, क्षेत्री, नेवार, मगर, दुरा, कामी आदि रहेका छन् भने नेपाली लोक संगीतमा दुर्लभ मानिने ठाडोभाका लोक गीतको जन्मथलो मानिने यस क्षेत्रमा बिभिन्न जातिय तथा परम्परागत नृत्यहरु पनि छन्। जसमा घाटु, चुड्का, कौरा र परम्परागत तिजका गित तथा नृत्यहरु यस नगरपालिकाका सर्वाधिक लोकप्रिय संस्कृतिहरु हुन्।
नगरवासिहरु आंसिक रुपमा जागिरे, व्यापार र वैदेशिक रोजगारिमा संलग्न भयतापनि कृषि नै मुख्य आर्थिक स्रोत रहेको छ। मादी, खहरे, गोल्यङ्दि, रिस्ति, चर्दि, मिदिम, पिस्ति जस्ता खोलाका काखमा रहेका फाटहरु उर्भर र सदाबाहार छन्।
हरेक बर्ष हिन्दुहरुको महान पर्व शिवरात्रिको अवशर पारेर हजारौँ श्रदालु भक्तजनहरु हाम्रो यस नगरको काखमा रहेको प्रसिद्ध धार्मिक स्थल इशानेश्वर महादेव मन्दिरको दर्शन गर्नका निम्ति आउने गर्दछन्। यसै गरी नाग भैरवको मन्दिर, मालिका मन्दिर,जल्पादेवी मन्दिर, जिता भयर थान मन्दिर आदि धार्मिक स्थलले आफनो छुटै अस्तित्व बोकेका छन् ।
विकासको क्रममा हेर्ने हो भने नगरपालिका स्थापना पूर्व नै यस क्षेत्रमा बाटो,विजुली,खानेपानी,शिक्षा,स्वास्थ्य,टेलिफोन, जस्ता भौतिक पूर्वाधारहरु लगभग दुइ तिहाइ नगरबासिले उपभोग गरिसकेका थिए भने नगरपालिका स्थापना पश्चात उक्त भौतिक सुविधाहरु क्रमबद्ध रुपमा न.पा.को सम्पुर्ण क्षेत्रमा विस्तार गर्न नगरपालिका निरन्तर रुपमा लागि परेको छ। शिक्षाको क्षेत्रमा हेर्ने हो भने,यस नगरमा जम्मा ४६ सरकारी, ७ निजि र १ बाल बिकास केन्द्र सञ्चालनमा रहेका छन । नेपाल सरकारले तोकिएको मापदण्ड र सेवा सुविधाको आधारमा नमुना विधालयको रुपमा परिचित मंगला मा.वि यसै नगरको चिनारी हो । यस नगरका शत प्रतिशत नगरवासिले विधुत सेवा उपभोग गर्न पाएका छन् भने यातायातको क्षेत्रमा १८ कि.मि कालोपत्रे पक्कि सडक, ३४ कि.मि ग्राभेल सडक र २३० कि.मि कच्चि सडक रहेका छन्। यस नगरको प्रमुख आर्थिक केन्द्र भोर्लेटार , रामबजार, दुइपिप्ले, र सोतिपसल हाम्रो छिमेकि जिल्ला तनहुँको सदरमुकाम दमौलीसँग पक्कि सडकले जोडिएको हुदा बजार ब्यवश्थापनका लागि सहज मानिन्छ ।
अन्तमा स्थानिय स्वायत्त निकायको रुपमा कार्यरत यस नगरपालिकाले नगरपालिकामा आफ्नो सेवाहरु सर्वशुलभ र छिटोछरितो रुपमा उपलब्ध गराउनका साथै सफा खानेपानी, यातायात सुविधामा सुधार गरी, महिला जनजाति तथा पिछडिएका वर्ग र समुदायमा सामाजिक सेवा उपलब्ध गराउन पूर्वाधारहरुको स्थापनामा सहयोग गर्ने उन्नत् कृषि प्रणाली,सामुदायिक वन उपभोत्ता समितिलाई क्रियाशिल पार्न तथा वातावरणीय सन्तुलन कायम राख्ने कार्यमा सहयोग पु¥याउने, सहरी क्षेत्रको सरसफाई, ल्याण्डफिल्ड साइट, पशुऔषधालय, ब्यवश्थित बसपार्क तथा रंगशाला निर्माण, कालोपत्रे तथा ढल निकासको कार्यक्रमलाई प्राथमिकता दिने र चरणवद्ध रुपमा शहरी पूर्वाधार श्रृजना गर्दै जाने, प्राकृतिक सौन्दर्यता र सास्कृतिक धरोहरहरुको संरक्षण र सम्बर्धनका साथै पर्याटकिय महत्वलाई उजागर गर्ने लक्ष्य लिई आफ्नो स्रोत र साधनको भ्याएसम्म अबिरल गतिमा अघाडि बढी रहेको र यस नगरपालिकालाई बिभिन्न सरकारी तथा गैरसरकारी संघसस्थाले सहयोग गरि अहम भुमिका खेलिरहेका छन्।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.