नेपालको संविधान २०७२ मा उल्लेख भएअनुसार गरिएको राजनैतिक विभाजन अनुसार व्यवस्था गरिएका सातवटा प्रदेशहरु मध्ये गण्डकी प्रदेश अन्तर्गतको एउटा जिल्ला पर्वत हो । कालञ्जर हम्पाल पर्वत, डहरेको लेक, पैयुँ, पञ्चासे, सेतीवेणी, महाशिला, मोदीवेणी, विश्वकै ठूलो मानिएको शालग्राम, गुप्तेश्वर गुफा, अल्पेश्वर गुफा, सहस्रधारा, शालग्रामयुक्त कालीगण्डकी नदी, विभिन्न स्थानमा रहेका ऐतिहासिक तथा प्रसिद्ध प्राचीन कोटहरु जस्ता प्राकृतिक र धार्मिक स्थलहरु रहेको यो जिल्ला पर्या–पर्यटन, धार्मिक पर्यटन, कृषि तथा लघु उद्यम आदिको विकासका लागि बलियो सम्भावना बोकेको जिल्लाका रुपमा चिनिन्छ । यो जिल्ला पहाडी भौगोलिक बनावट भएको, प्राकृतिक, सांस्कृतिक तथा सामाजिक विविधताका दृष्टिले महत्वपूर्ण र सुन्दर जिल्ला हो (जि.वि.स. पर्वत, २०७०ः ४) । यस जिल्लामा रहेका विभिन्न स्थानीय तहहरु मध्ये पैयुँ गाउँपालिका एक हो । नेपाल सरकारको मिति २०७३ साल फागुन ३० गतेको निर्णयअनुसार जिल्लाका साविकमा कायम रहेका ४७ वटा गा.वि.स. र एउटा नगरपालिकालाई समायोजन गरी गठन भएका यस जिल्लाका सातवटा स्थानीय तहहरु (जलजला, मोदी, महाशिला, पैयुँ एवम् बिहादी गरी ५ वटा गाउँपालिका र कुश्मा तथा फलेवास सहित २ वटा नगरपालिका¬) मध्ये पैयुँ गाउँपालिका एक हो । साविकमा कायम रहेका बेउलीबास, टकलाक, त्रिवेणी, हुवास (दुईवटा वडा कायम), सरौंखोला र भोर्ले सहित छ वटा गा.वि.स. हरुलाई समावेश गरी सातवटा वडा रहेको पैयुँ गाउँपालिका गठन गरिएको छ ।
वर्तमान पर्वत जिल्लाको महाशिला गाउँपालिका–१ अन्तर्गत (साविकको होश्राङ्दी गा.वि.स.–१) मा पर्ने कालीगण्डकीको वाँया किनार पर्वतको दक्षिणी भेगमा उत्तरबाट दक्षिणतर्फ फैलिएको र गोल्र्याङको डाँडाको काखमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक महङ्खव बोकेको पैयुँकोटका नामबाट यस गाउँपालिकाको नाम ‘पैयुँ’ रहन गएको देखिन्छ । यस कोटको नाम र मध्यकालमा पैयुँ राज्यका नामबाट शासित पर्वतको दक्षिणी पूर्वी क्षेत्रलाई अहिलेपनि पैयुँक्षेत्र भनेर चिनिन्छ । चौबीसी राज्य अन्तर्गत पैयुँ राज्यको सबैजसो भाग अहिले पर्वत जिल्लामा समावेश गरिएको छ । पैयुँकोट कसरी नाम रहन गयो भन्ने बारेमा विभिन्न प्रकारका जनश्रुतिहरु रहेको पाइन्छ । पैयुँ भन्ने रुखको बाक्लो घारी वा जङ्गल भएको स्थानमा कोटघर निर्माण गरिएकोले यस ठाउँलाई पैयुँकोट भनिएको हो भन्ने जनश्रुति यहाँ रहेको छ । हाल पैयुँकोट रहेको ठूलो चौरमा घोडालाई पैयाँ कुदाएर तालिम गर्नसक्ने फराकिलो ठाउँमा कोट दरबार भएकोले यसलाई पैयुँकोट भन्न थालिएको हो भन्ने भनाई पनि प्रचलित छ ।
मध्यकालमा अस्तित्वमा रहेका बाइसी चौबीसी राज्यअन्तर्गतको एक प्रमुख राज्य पैयुँ थियो । मध्यकालको पैयुँ राज्य हालको पर्वत जिल्लाकै महङ्खवपूर्ण क्षेत्रका रुपमा रहेको छ । पैयुँ राज्य १६ औं शताब्दीदेखि १९ औं शताब्दी (वि.सं. १५०२ – १८४२) सम्म अस्तित्वमा रहेको थियो । पैयुँ राज्यका प्रथम राजा रामसिंह सेन थिए भने अन्तिम राजा नायब अकवरसिंह सेन थिए । तत्कालीन समयमा पूर्वमा भिरकोट, पश्चिममा कालीगण्डकी र पाल्पा राज्य, उत्तरमा पर्वत राज्य र दक्षिणमा पाल्पा, गुल्मी, खाँची र अर्घा राज्यको चौकिल्लाभित्र पैयुँ राज्य रहेको थियो । लिच्छवी शासनको पतनपश्चात् मगरात प्रदेशमा मगरहरुको बाहुल्य भएका कारण पैयुँ राज्य मगरहरुको बलढेङ्गी राज्यअन्तर्गत समाहित भएको थियो । पाल्पाली राजा मुकुन्द सेन प्रथमले गुल्मी, अर्घा र खाँचीको मद्दतले मगरहरुको बलढेङ्गी राज्यलाई परास्त गरेपछि पैयुँ क्षेत्रमा आले, राना, चितौरे र थापा मगरहरुको संयुक्त मुख्यौली शासन चलेको थियो । यिनीहरुको मुख्यौली शासन, परस्परको विरोधका कारण र वरिपरिका राज्यहरुमा राजपूत वंशका राजाहरुको शासनको शुरुवात भइसकेकोले त्यसको प्रभावका कारण हुन सक्दछ, यी चार थरी मगरहरुले पैयुँ राज्यमा राजपुत वंशका राजा थाप्ने र उनैको हुकुम शिरोधार्य गर्ने सल्लाह गरेअनुरुप गञ्जु आले, पिउर राना, शेरु चितौरे र बदल थापाले वनारसको घाँसपानीस्थित राजपूतहरुको गाउँ बाँसी भन्ने ठाउँमा पुगी त्यहाँबाट राजपूत नाइकेका छोरा रामसिंह सेन र उनकी गर्भिणी श्रीमतीलाई समेत बोकेर ल्याइ वि. स. १५०२ मा बडादसैंको अष्टमीका दिन रामसिंह सेनलाई पैयुँ राज्यको राजपूत सेनवंशका प्रथम राजा बनाइएको पाइन्छ । राजा रामसिंहले रैतीको भारा नलागोस भनेर उपहार ल्याइदिनेहरुलाई जमिन उपलब्ध गराई कर माफी गरीदिएका थिए भने आफूलाई वनारसबाट बोकील्याई राजा बनाउने चारवटा मगरलाई चारकाजी बनाई चारवटा क्षेत्रको क्षेत्रपाल बनाएका थिए । यी चार क्षेत्रका क्षेत्रपालले पैयुँ राज्यलाई मानेकोले यस क्षेत्रलाई चारपाला पैयुँ भनेर पनि चिनिन्छ । यही ऐतिहासिक तथा पौराणिक महङ्खव बोकेको चर्चित स्थान पैयुँकोट र चौबीसी राज्य अन्तर्गतको प्रमुख राज्य पैयुँराज्यका नामबाट नै यस गाउँपालिकाको नाम पैयुँ राखिएको हो ।
पैयुँ गाउँपालिका २८० ००’ १९” देखि २८० ०८’ ०८” उत्तरी अक्षांश र ८३० ३८’ १३” देखि ८३० ४२’ ४९” पूर्वी देशान्तरसम्म यो जिल्ला अवस्थित छ । यस गाउँपालिकाको पूर्वी सिमानामा स्याङ्जा जिल्लाको भू–भाग, पश्चिममा विहादी र महाशिला गाउँपालिका, उत्तरी भागमा महाशिला गाउँपालिका र दक्षिणमा स्याङ्जा जिल्लाको भू–भाग पर्दछ । यस गाउँपालिकाको कुल क्षेत्रफल ४२.५ वर्ग किलोमीटर रहेको छ भने समुद्र सतहबाट ५६० मिटर उचाईदेखि १८२० मिटरसम्मको उचाईमा यो गाउँपालिका फैलिएर रहेको छ । २०७८ सालको जनगणनाअनुसार जनसङ्ख्याको दृष्टिले जिल्लाका सातवटा स्थानीय तहमा पाँचौ र गाउँपालिकाहरु मध्येमा तेस्रो स्थानमा यो गाउँपालिका पर्दछ (जि.स.स., पर्वत, २०७४) । गाउँपालिकामा रहेका ३,२६८ घरधुरीमा कुल जनसङ्ख्या १२,७२५ बराबर रहेको छ । जसमा महिला ५३.४% र पुरुषको सङ्ख्या (४६.६ % रहेको छ । जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार वि. स.ं २०७४ मा सम्पन्न आम निर्वाचनमा यस गाउँपालिकामा कुल मतदाता १०३७५ बराबर रहेका छन् ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.