मोरंगको रतुवामाई नगरपालिका जिल्लाको दक्षिण पूर्वी भागमा पर्दछ । यो नगरपालिकाको सबै भूभाग सम्म परेको तराईको क्षेत्रमा अवस्थित छ । मोरंगको सिजुवा, वरडंगा (१,४,५,७), गोविन्दपुर(१,३,४,७), झुर्किया, महादेवा र इटहरा लगायतका क्षेत्रलाई मिलाएर यो नगरपालिका स्थापना गरिएको हो । वि.सं. २०७८ सालको जनगणना अनुसार यस नगरपालिकाको कूल जनसंख्या ६१,१३९ रहेको छ, जसमा महिला ३२१५९ जना र पुरुष २८९८० जना छन्। यसको क्षेत्रफल १४२.१५ वर्गकिलोमिटर रहेको छ र जम्मा घर दुरी १४५०८ रहेको छ। यस भेगमा अघि धेरै पहिलादेखि मानिसहरुको बसोबास भएको देखिन्छ । अघि मोरंग भेगमा झाडीका रुपमा रहँदा पनि यस भेगका खोला किनाराहरुमा स्थानीय आदिवासीहरुको बसोबास थियो । यस नगरपालिका भित्रका विभिन्न भागमा अहिले पनि त्यस्तो पुरानो बसोबासको केन्द्रका अवशेषहरु पाउन सकिन्छ । रतुवा र बक्राहा खोलाको बीच तथा मोरंगको दक्षिणपूर्वी भागमा यो नगरपालिका अवस्थित छ ।
अघि रतुवामाई क्षेत्र विभिन्न रजौटाहरुको अधीनमा थियो । अघि कुनै बेला यो स्थान प्राग्ज्योतिषपुरमा पर्दथ्यो भने पछि गएर यो भेग मत्स्यदेश भित्र पर्न पुग्यो । त्यस बेला रतुवामाई क्षेत्र विराटराजाको अधिनमा थियो । यसैगरी यो प्रदेश इसापूर्व कालमा नै पुण्ड्वर्धनको महत्वपूर्ण क्षेत्रका रुपमा रह्यो भने मध्यकालतामा यस भेगमा मुरेहांगको अस्तित्व रह्यो । त्यसपछि धनपाल, सुन्वर्षी महाराज र अन्य रजौटाहरुको अधिनमा पर्दै रतुवामाई क्षेत्र पाल्पाली सेनहरुको अधिनमा पर्न पुग्यो । पाल्पाली सेनहरुले विजयपुर लगायतका क्षेत्र एकीकरण गर्दा यो भेग तिनको अधीनमा परेको हो । नेपाल एकीकरणको अभियान पछि भने सम्पूर्ण विजयपुर बृहत्तर नेपालमा गाभियो र यो भेग पनि स्वतहनै बृहत्तर नेपालमा पर्न पुग्यो । त्यसपछि यो भेग केहि समयका लागि सांगुरिगढ़ीबाट प्रशासित भयो । कालान्तरमा यस नगरपालिका क्षेत्रको प्रशासन मोरंग गोश्वाराबाट गर्न लागियो । यसको केन्द्र रंगेली थियो । वि.सं १८७२ सालमा यस भेगको सदरमुकाम साँगुरीगढीबाट रंगेलीमा सारिएको हो। त्यसपछि पनि रतुवामाई नगरपालिका क्षेत्र निरन्तररुपमा मोरंगको सिमाभित्र पर्यो । पछि जिल्ला विभाजनका क्रममा रतुवा खोलालाई सिमाना बनाएर यो क्षेत्र मोरंग भित्र परेको हो।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.