सिद्ध कुमाख गाउँपालिका नेपालको संबिधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाँउपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा बिशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्यको एक हो । कर्णाली प्रदेश अन्तर्गतको सल्यान जिल्लामा पर्ने यो सिद्ध कुमाख गाउँपालिका साविकको सिद्धेश्वरी, बाँझकाँडा र चाँदेकरेञ्जी गा.बि.स. मिलेर यो गाउँपालिका बनेको छ । सल्यान जिल्लाको कुल क्षेत्रफल १९५१ बर्ग किलोमिटर मध्ये यस गाउँपालिकाले ८९.३६ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । यस गाउँपालिकामा जम्मा ५ वटा वडामा महिला ६८७९ र पुरूष ६२५८ गरी जम्मा १३,१२७ जनसंख्या रहेको छ । पूर्वमा बागचौर नगरपालिका, दक्षिणमा शारदा नगरपालिका, पश्चिममा बनगाड कुपिण्डे नगरपालिका तथा उत्तरमा कुमाख गाउँपालिकासँग भौगोलिक सिमाना जोडिएको यस गाउँपालिकाको भौगोलिक अवस्थिति २८ डिग्री २४ मिनेट उत्तरी अक्षांश र ८० डिग्री २३ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ । सल्यान जिल्लाको दोस्रो ठुलो पहाड तथा धार्मिक र पर्यटकीय स्थल कुमाख यसै गाउँपालिकामा पर्दछ । समुद्री सतह देखि यस पहाडको उचाइ २५३७ मिटर रहेको छ । साविकका जिमाली, मर्मपरिकाँडा र सिद्धेश्वरी गा.वि.स. हरूलाइ काखमा लिएको यस रमणिय पर्वतको टुप्पामा सिद्ध मन्दिर छ । यस मन्दिरमा प्रत्येक वर्षको विजयादशमी देखि कोजाग्रत पूर्णिमासम्म पूजा हुने गर्दछ । कोजाग्रत पूर्णिमाको दिन मन्दिरदेखि करिव १ किमि तल समथर भुभागमा सल्यान जिल्लाकै ठुलो मेला लाग्दछ । यहि कुमाख लेक र कुमाख लेकको टुप्पोमा रहेको सिद्ध बाबाको मन्दिरलाइ संयोजन गरेर नै यस गाउँपालिकाको नाम सिद्ध कुमाख राखिएको हो । तथापी नेपाल सरकारले स्थानीय तह घोषणा गर्दा यस गाउँपालिकाको नाम ढोरचौर राखेर घोषणा गरिएको थियो । गाउँपालिकाको दोस्रो गाउँसभाले उक्त नाम सर्वसम्मतले परिवर्तन गरी मिति २०७४ साल पौष २४ गतेको नेपाल राजपत्रमा प्रकाशन गरी सिद्ध कुमाख गाउँपालिका भएको हो ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.